काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार (आज) भएको खेलमा पाकिस्तानलाई ३-० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुआत गरेको हो । भारतले पाकिस्तानविरुद्ध सुरुआती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो ।
खेलको २१ औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल गरेपछि भारतले १-० को अग्रता बनाएको थियो । खेलको २३ औं मिनेटमा ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाईन्। त्यसपछि खेलको इन्जुरी समयमा सौम्याले गोल गर्दै भारतलाई ३-० को जित दिलाईन् ।
यस जितसँगै समूह ‘ए’ को भारतले पहिलो खेलमै ३ अंक जोडेको छ । पाकिस्तानले भन हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । प्रतियोगिता अन्तर्गत नै आज हुने अर्को खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । बंगलादेश र माल्दिभ्सबीचको खेल ५ः३० बजे सुरु हुनेछ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
