अब लोसपा पनि सरकारमा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सरकारमा सहभागी हुने भएको छ । पाँच दलीय गठबन्धनमा भित्र्याउने तयारी भइरहेकै बेला लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी हुने संकेत गरेका छन् ।

नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई पाँच दलीय गठबन्धनमा भित्र्याउने गृहकार्य गरिरहेकै बेला महतोले यस्तो संकेत गरेका हुन् ।

Advertisement

पछिल्लो समय प्रधानमन्त्री देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुर, महतोसहितका शीर्षनेतासँग छलफल गर्दै गठबन्धन र सरकारमा सहभागी हुन प्रस्ताव गरिसकेका छन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनअघि नै लोसपालाई पाँच दलीय गठबन्धनमा भित्र्याउने तयारी भएको थियो । तर, सो प्रयास असफल भएपछि देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि नै लोसपालाई भित्र्याएर गठबन्धनलाई अझै बलियो बनाउने प्रयास गरेका छन् ।

जपान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएपछि लोसपालाई गठबन्धनमा भित्र्याउनेबारे निर्णय हुने कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्दबहादुर कार्कीले जनाएका छन्। राजधानी दैनिकबाट

 

More News last news
Loading...