गौतमको पत्रकारिता यात्रा : ‘हकर’ देखि युनियन उपमहासचिवको उम्मेदवारसम्म

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा यतिबेला महाधिवेशनको रौनक छाएको छ । आगामी साउन ६ र ७ गते हुने हेटौंडा महाधिवेशनका लागि लोकतन्त्रवादी पत्रकार एवं सञ्चारकर्मीहरुको उम्मेदवारी घोषणा कार्यक्रम धमाधम भइरहेका छन् । यसैबीच संचारकर्मी युवराज गौतमले नवौं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

२०५८ सालमा इलामको फिक्कलबाट प्रकाशित पावनभूमी साप्ताहिकमा वितरक (हकर) र संवाददाताका रुपमा पत्रकारितामा प्रवेश गरेका उपमहासचिबका उम्मेदवार गौतमले २०५९ देखि २०६१ सम्म स्पेसटाइम दैनिकमा दार्जिलिङ र इलाम संवाददाता रही काम गरेका थिए ।

Advertisement

२०६२ देखि पूर्वाञ्चल दैनिक र जनसंसद् दैनिकमा स्टोरीबेस लेखनमा सक्रिय उनी २०६४ देखि काठमाडौंमा रही कान्तिपुर साप्ताहिक र भावी नेपाल साप्ताहिकमा पनि नियमित सक्रिय भए । २०७० देखि २०७७ सम्म ईमेज ग्रुप अफ कम्पनीज अन्तर्गत ‘इमेजखबर डटकम’को डेक्स सम्पादक भएर काम गरेका गौतम २०७७ देखि एक बर्ष ‘हाम्राकुरा डटकम’मा समाचार संयोजकको जिम्मेवारीमा थिए ।

गौतम २०७६ देखि हालसम्म ‘अर्थबजार डटकम’को सम्पादकको जिम्मेवारीमा पनि छन् । बरिष्ठ पत्रकार किशोर नेपाल सम्पादक रहेको रुपान्तरण डटकममा पनि उनी सम्पादकीय नेतृत्यमा काम गर्दै आइरहेका छन् । उनले फ्रेसन्यूज नेपालको समाचार संयोजकको भूमिका निर्वाह गरिसकेका छन् ।

प्रेस युनियन इलाम कार्य समिति सदस्य, केन्द्रीय पार्षद् हुँदै पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित गौतमले केन्द्रीय समितिमा बसेर प्रभावकारी भूमिका निर्वाह गर्दै आएका थिए । डिजिटल मिडिया विभागको संयोजकको जिम्मेवारी पाएपछि उनले डिजिटल मिडियासम्बन्धी रचनात्मक कार्यक्रमहरु गरेका थिए ।

राजनीतिक, सामाजिक र पर्यटन सम्बन्धी विभिन्न बिषयमा स्वतन्त्र रुपमा कलम चलाउँदै आएका गौतमले ‘शसक्त र सुदृढ प्रेस युनियन मेरो अभियान निष्ठा, इमान्दारिता र जिम्मेवारी मेरो स्वाभिमान’ लगायतका एजेण्डासहित चुनावी मैदानमा होमिएका छन् । हाल केन्द्रीय सदस्य रहेका गौतमलाई प्रेस युनियन इलाम शाखाले पनि उपमहासचिवमा अघि बढाउने निर्णय यसअघि नै गरिसकेको छ ।

More News last news
Loading...