अश्लिल भिडियो देखाएर शिक्षकद्वारा छात्रालाई दुर्व्यवहार, विद्यार्थी आन्दोलित

चितवन । अश्लिल भिडियो देखाएर शिक्षकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैंडाकोट नगरपालिका–५ स्थित जनक माविका विद्यार्थी आन्दोलित बनेका छन्।

कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई शिक्षक कपिल घिमिरेले दुर्व्यवहार गरेको विद्यार्थीहररुको आरोप छ। दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित भएका हुन्।

Advertisement

आन्दोलित विद्यार्थीले विद्यालयमा तोडफोड गर्नुका साथै मोटरसाइकलमा पनि आगजनी गरेका छन् । विद्यालय परिसरमा रहेको ना२४प ६६१५ र प्र३–००२ प २७७६ नम्बरका दुई मोटरसाइकलमा आगजनी गरेका छन् । विद्यालय र राजमार्ग क्षेत्र आइतबार केहीबेर तनावग्रस्त बनेको थियो।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । विद्यार्थीले गरेको ढुंगामुढाबाट १० जनाभन्दा बढी प्रहरी घाइते भएको नवलपुर प्रहरीका प्रवक्ता डिएसपी सन्तोष पाठकले जानकारी दिए। ‘इन्सपेक्टर प्रशान्त श्रेष्ठसहित १० भन्दा बढी प्रहरी घाइते भएका छन्। उता कति जना घाइते भए जानकारी आएको छैन,’ उनले भने।

आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । अहिले विद्यालय आसपासको क्षेत्र सामान्य भइसकेको र घटनाको विषयमा थप अनुसन्धान गरिने उनले बताए।

विद्यार्थीका अनुसार दुर्व्यवहारको घटना २८ चैतमा भएको थियो । घटना मिलाउन दुई पक्षबीच छलफल हुँदै आएको थियो।

More News last news
Loading...