कलंकी । म्याद गुज्रिएका पेय पेय पदार्थ र खाद्य वस्तु बेच्ने कलंकीको भाटभटेनी सुपरमार्केटलाई दुई लाख जरिवाना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य विभागको संयुक्त अनुगमन टोलीले आज (आइतबार) गरेको अनुगमनका क्रममा म्याद सकिएको मिरिन्डा र म्याद स्पष्ट नदेखिने सामान राखिएको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार, आगामी दिनमा म्याद गुज्रिएको सामान विक्री गरिएको पाइएमा थप कारावाही गर्ने गरि सचेत गराइएको छ।
पछिल्लो समय काठमाडौँमा पेट्रोलिय पदार्थ र खाद्य वस्तुको चरम अभाव हुन थालेपछि स्थानीय सरकारले बजार अनुगमनलाई तिब्र पारेको छ। अब निरन्तर बजार अनुगमनलाई थप चुस्त र प्रभावकारी बनाउँदै लैजाने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ।
यसैगरी, अनुगमनका क्रममा कालिमाटीमा रहेको समर किराना पसल र चम्पारण स्टोरमा अनुगमन गर्दा मूल्य सूची नराखिएको, केही सामानहरुको म्याद सकिएको र उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै ५०–५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
