काठमाडौँ । काठमाडौंको कलंकी नजिकै फेरि अर्को सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार साँझ पौने ७ बजे कलंकीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिए।
परिसरका अनुसार, चार वटा सवारीसाधन दुर्घटनामा परेका हुन् । कलंकीबाट बल्खुतर्फ आउँदै गरेको बागमती प्रदेश १–२५–प ०४२० नम्बरको गाडी, बा४९प ७१८५ नम्बरको स्कुटर, बा१प ९८८ नम्बरको माइक्रो बस र ना५ख ७५०८ नम्बरको ट्रक दुर्घटनामा परेका हुन्।
महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार पुरानो एमाले पार्टी कार्यालयनजिकै सुरूमा गाडीले स्कुटरलाई ठक्कर दिएको थियो। गाडीले ठक्कर दिएपछि स्कुटर माइक्रो बससँग ठोक्किएको थियो।
माइक्रोसँग ठोक्किएपछि स्कुटरमा सवार एक जना उछिट्टिएर ट्रकमुनि परेको प्रहरीले जनाएको छ।
स्कुटर पछाडि सवार सुनसरी धरान घर भई ललितपुरको टिकाथली बस्ने २९ वर्षीय सन्तोष लिम्बुको उपचारको क्रममा ज्यान गएको छ । उनको बल्खुको बयोधा अस्पतालमा ज्यान गएको हो ।
यस्तै, स्कुटर चालक २७ वर्षीय दिनेश थापामगर घाइते छन्। उनी सोही अस्पतालमा उपचाररत छन्। उनको अवस्था सामान्य छ। मृतक र दिनेश साथी भएको प्रहरीले जनाएको छ।
यसअघि, बिहीबार पनि कलंकीमा कारले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा चालकसहित ६ जना घाइते भएका थिए ।
कालीमाटीबाट कलंकीतर्फ आउँदै गरेको बा ५ च ५४४० नम्बरको कारले रोकिराखेको स्कुटर र गुडिरहेको २२० पल्सरको मोटरसाइकललाई ठक्कर दिँदा २ चालक र पैदलयात्रु गरी जम्मा ६ जना घाइते भएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
