ललितपुरमा कांग्रेस युवाहरुको भेला, तरुण दलको प्रस्तावित सभापतिमा लाओस राई

काठमाडौं । नेपाली कांग्रेस निकट भ्रातृ संगठन आबद्ध युवाहरुले भ्रातृ संगठनहरुमा चाँडो नयाँ नेतृत्व ल्याउन र मैदानमा खटिएका युवाहरुलाई उचित स्थान प्रदान गर्न पार्टी नेतृत्वलाई दबाब दिने भएका छन् ।

ललितपुरस्थित झम्सीखेलमा भेला भएका तरुण एवम विद्यार्थी नेताहरुले युवा नेता लाओस राईलाई तरुण दलको सभापतिको जिम्मेवारीमा ल्याउन माग समेत गरेका छन् । संगठन निर्माणमा मैदानमा खटिएका, आन्दोलनको मोर्चामा अग्रसर देखिएका सक्षम र जुझारु युवा राईलाई तरुण दलको नेतृत्वमा ल्याउन दबाब दिने निष्कर्ष समेत निकालेका छन् ।

Advertisement

भेलामा पाटन संयुक्त क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, दोलखा, ललितपुरलगायतका जिल्लाका नेविसंघ इकाइ, तरुण दल, किसान संघलगायतको जिम्मेवारीमा रहेका उनीहरुले योगदानका आधारमा सक्षम तथा समावेशी अनुहारलाई नेतृत्वमा ल्याउन जोड दिएका हुन् ।

भेलामा नेविसंघ दोलखाका सभापति एवम केन्द्रीय सभापतिका दाबेदार भीम खड्काले भ्रातृ संगठनहरु पार्टीको मेरुदण्ड भएकाले सोही अनुसारको नेतृत्व आवश्यक रहेको औंल्याए । त्यस्तै पुल्चोक इन्जिनियरिङ क्याम्पसका नेविसंघ पूर्वइकाइ सभापति एवम नेविसंघ महामन्त्रीका दाबेदार सुदर्शन शर्माले संगठनहरुलाई क्रान्तिकारी, योग्य र विभिन्न आन्दोलनहरुमा अग्रमोर्चामा रहेर खटिएका युवा नेता राईजस्ता व्यक्तिहरुले सम्मानजनक स्थान पाउनुपर्ने बताए ।

पाटन संयुक्त क्याम्पसका इकाइ सभापति तारा शर्माले शीर्ष नेताहरुको घरदैलो पुग्ने, संगठन निर्माण भन्दा पनि चाम्लुसी र अवसरवादमा दौडिने व्यक्तिहरुका कारण मैदानमा रहेका नेताहरुलाई अवसरबाट बन्चित हुन नहुने बताए ।

कांग्रेसले म्याद सकिएका १० भ्रातृ संगठनमा नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेको छ । फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले तदर्थ समिति गठन गर्ने तयारीमा जुटेको हो ।

विशेष गरी नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघको नेतृत्व रिक्त रहेकाले प्राथमिकताका साथ उक्त संगठनहरुमा नयाँ नेतृत्वको तयारी थालिएको हो । तरुण दलमा ४५ बर्ष र नेविसंघमा ३२ बर्षे उमेर हदको व्यवस्था अनुरुप नयाँ कार्यसमिति गठन गर्ने तयारी छ ।

More News last news
Loading...