पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविस्वासको प्रस्ताव पेस

इस्लामाबाद l पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । खानविरुद्धको अविश्वास प्रस्ताव पाकिस्तानको तल्लो सदन नेसनल एसेम्बली सचिवालयमा दर्ता भएको छ ।

अविस्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का १ सय सांसदहरुले हस्ताक्षर गरेका छन् । अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको खानमाथि आरोप लाग्दै आएको छ ।

Advertisement

सन् २०१८ मा सत्ता सम्हालेपछि उनले यस्तो चुनौती सामना गर्दै आएका छन् । ६९ वर्षीय खानले गठबन्धन सरकारको नेतृत्व गरेका छन् । गठबन्धनमा उनलाई समर्थन दिएका केही दलहरुले अविस्वासको प्रस्तावको पक्षमा मतदान गरेमा खान पदमुक्त हुनेछन् ।

खानविरुद्ध अविस्वासको प्रस्ताव दर्ता हुनुअघि पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले नेतृत्व गरेको विपक्षीहरुको ह्यालीमा हजारौं सहभागीले प्रधानमन्त्री खानविरुद्ध नाराबाजी गरेका थिए । त्यसले पाकिस्तानमा राजनीतिक उथलपुथलको सम्भावनालाई संकेत गरेको थियो ।

‘२४ घन्टामा राजीनामा दिएर चुनाव सामना गर,’ पीपीपी नेता बिलवाल भुट्टो जर्दारीले प्रधानमन्त्री खानलाई लक्षित गर्दै भनेका थिए, ‘वा अविश्वासको प्रस्तावका लागि तयार होऊ ।’

३४२ सदस्य भएको नेसनल एसेम्बलीमा खानविरुद्ध लगाइएको अविस्वासको प्रस्ताव पारित हुन विपक्षीलाई १७२ मत आवश्यकत पर्छ । तर, विपक्षीले त्यो भन्दाबढी मत खानको विरुद्धमा रहेको दाबी गरेका छन् । ‘हामीसँग १७२ भन्दाबढी मत हुनेछ,’ पूर्वराष्ट्रपति तथा पीपीपीका नेता असिफ अली जर्दारीले भने ।

More News last news
Loading...