किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पछिल्लो साता आफूविरुद्ध भएका तीन ओटा हत्या प्रयासबाट बचेको द टाइम्सले रिपोर्ट गरेको छ।
जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रुप र चेचेन विशेष फौज पठाइएको सो पत्रिकाले दाबी गरेको छ। दुबैलाई रुसी प्रशासन केन्द्र क्रेमलिनको सहयोग र साथ छ।
रुसभिको संघीय सुरक्षा सेवा (एफएसबी) भित्रको युद्धविरोधी तत्वहरुले राष्ट्रपतिको हत्या प्रयास बिथोलिदिएको सो पत्रिकाले जनाएको छ। राष्ट्रपतिको हत्या प्रयास गत साताको अन्त्यतिर बिथोलिएको विवरण अमेरिकी पत्रिका वासिंगटन पोस्टले पनि लेखेको छ।
राष्ट्रपतिको हत्या पछाडि लागि परेको बताइएका चेचेन विशेष फौजलाई युक्रेनी एक सुरक्षा नेताले समाप्त पारिदिएको सो पत्रिकाले जनाएको थियो। रुसी सेनाले युक्रेन हमलालाई झनै आक्रमक बनाएको छ।
शुक्रबार मात्र रुसी सेनाले युक्रेनको आणविक केन्द्रमा आगो लगाइदिएको थियो। आगो लगाइदिएपछि सो केन्द्र अहिले रुसी सेनाको नियन्त्रणमा छ। युरोपकै ठूलो बताइएको सो आणविक केन्द्रमा भएको हमलाको विश्व समुदायले निन्दा गरेको छ ।
देश छोड्न अस्वीकार
युद्धको बीचमा अमेरिकाले जेलेन्स्कीलाई देश छोड्ने प्रस्ताव पनि गरेको थियो, तर उनले त्यसलाई अस्वीकार गरे। जेलेन्स्कीले भने ‘उनलाई युद्धमा लड्न हतियार चाहिन्छ, भाग्नको लागि सवारी होइन।’
उनको यो निर्णयको फ्रान्सलगायत धेरै देशले प्रशंसा गरेका छन् । राष्ट्रलाई सम्बोधन गर्दै, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले जेलेन्स्कीलाई ‘साहस, स्वतन्त्रता र सम्मान’ को प्रतीकको रूपमा वर्णन गरे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
