काठमाडौंमा भयानक सवारी दुर्घटना, दुईजनाको ज्यान गयो

काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । बा ६४ प १३९६ नम्बरको मोटरसाइकलले गए राति करिब साढे ९ बजे पैदलयात्रीलाई ठक्कर दिएर नियन्त्रण गुमाई सडकछेउको घरको भित्तामा गएर ठोक्किएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक ओखलढुंगा घर भई आरुबारी बस्दै आएका अन्दाजी २८ वर्षीय शिवराज कार्की र पैदलयात्री कपन बस्ने ओखलढुंगाकै हर्कपुरका ६१ वर्षीय दुर्गाबहादुर कार्कीको मृत्यु भएको जनाइएको छ ।

Advertisement

मोटरसाइकल चालकको उपचारका क्रममा चाबेलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा र पैदलयात्रीको ओम अस्पतालमा राति नै मृत्यु भएको जनाइएको छ । कपनको भृकुटीचोकबाट गोपीकृष्णतर्फ आउँदै गरेको उक्त मोटरसाइकल दुर्घटनामा परेको थियो।

यसैगरी, काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि नक्कली प्रेसर कुकर बम राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले गए राति एक जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

काभ्रेको भुम्लु गाउँपालिका-२ का सुवास महतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो। गत आइतबार प्रतिनिधि सभाबाट एमसिसी पारित भएको थियो। एमसिसी पारित भएको विरोधमा छ दल र दुई मोर्चाले सोमबार बन्द आह्वान गरेका थिए।

सोही दिन संसद भवन अगाडि सडकमा तारले जेलिएको अवस्थामा प्रेसर कुकर फेला परेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान गर्दा सिसीक्यामेरा फुटेजमा मोटरसाइकलमा सवार दुई युवकले प्रेसरकुकर छाडेर गएको देखिएको थियो।

प्रेसरकुकर सडकमा छाड्ने महतलाई पक्राउ गरिएको र अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। महत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनअन्तर्गत पशुपति बहुमुखी क्याम्पस इकाइ कमिटीका अध्यक्ष रहेको खुलेको प्रहरीको भनाइ छ।

More News last news
Loading...