अब जेष्ठ पत्रकारले मासिक ५ देखि १५ हजार पाउने, कार्यान्वयन हुनेमा महासंघ विश्वस्त

काठमाडौं । नेपाल पत्रकार महासंघको लामो पहलपछि सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेकोमा नेपाल पत्रकार महासंघ उक्त निर्णयको स्वागत गर्दै त्यसको पूर्ण कार्यान्वयन हुनेमा विश्वस्त रहेको जनाएको छ।

२०७८ फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णयबाट जेष्ठ पत्रकारलाई ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको हो ।

Advertisement

उक्त निर्णयअनुसार ६५ वर्षदेखि ६९ वर्ष उमेर समुहका जेष्ठ पत्रकारलाई मासिक ५ हजार, ७० देखि ७५ वर्षसम्म मासिक ७ हजार, ७६ देखि ८० वर्षसम्मका जेष्ठ पत्रकारलाई मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समूहका जेष्ठ पत्रकारलाई मासिक १५ हजारका दरले ‘जेष्ठ पत्रकार वृत्ति’ उपलब्ध गराउने भएको महासंघका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेपाल पत्रकार महासंघले विगत लामो समयदेखि ६५ वर्षमाथिका पत्रकारलाई पत्रकार वृत्ति उपलब्ध गराउन सरकारलाई लिखित दबाब र सुझाव दिँदै आएको थियो । सरकारको यो निर्णय स्वागत योग्य भए पनि ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ का कतिपय प्रावधान सरलीकृत गर्न जरुरी रहेकोले महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराएको विज्ञप्तिमा जनाइएको छ ।

More News last news
Loading...