जर्मनी र स्वीडेनपछि युरोपेली युनियनले पनि दियो युक्रेनलाई हतियार

किभ l रुसी सेनाकाे वायु तथा स्थल हमलालाई काउन्टर दिन युरोपेली देशहरुले युक्रेनलाई हतियार सहयोग गर्ने भएको छ। किभको अनुरोधमा इयुले लडाकु जेट पठाउने तयारी गरेको ईयुका विदेश नीति प्रमुख जोसेप बोरेलले बताएका छन् ।

‘हामीहरुले लडाकु जेटसमेत प्रदान गर्न लागिरहेका छौं । हामी केबल हतियारको मात्र कुरा गरिरहेका छैनौं । युक्रेनलाई युद्धमा जान आवश्यक अझै बढी महत्वपूर्ण हतियार प्रदान गरिरहेका छौ,’ पत्रकार सम्मेलनमा उनले भने ।

Advertisement

यसअघि युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशलाई युक्रेनी सेनाले सञ्चालन गर्न सक्ने खालका लडाकु विमानहरू आवश्यक भएको र केही सदस्य राष्ट्रहरूसँग त्यस्ता विमान भएको बताएका थिए । जर्मनीले युक्रेनलाई मद्दत गर्न १ हजार एन्टि–ट्याङ्क हतियार र भूमिबाट वायुमा मार हान्न प्रयोग हुने स्टिङगर ५ सय थान पठाएको छ ।

त्यस्तै, स्वीडेनले पनि युक्रेनलाई हतियार सहयोग प्रदान गरेको छ । सन् १९३९ मा हिटलर र स्टालिनले फिनल्याण्डमा आक्रमण गरेपछि स्वीडेनले पहिलो पटक युद्ध क्षेत्रमा हतियार पठाएको हाे । राष्ट्रसंघअन्तर्गतको शरणार्थी सम्बन्धी निकायले रुसी हमलामा दशौं हजार विस्थापित भएको जनाएको छ ।

अधिकांश मानिस पोल्यान्डमा शरण लिइरहेका छन् । त्यसबाहेक हंगेरी, रोमानिया, मोल्डोभा र स्लोभाकियामा आश्रय खोजिरहेका छन्। यसैबीच, क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले युद्धबाट बच्न नागरिकहरूलाई कोरिडोर बनाउन आह्वान गरेका छन् ।

More News last news
Loading...