एससीसी सम्झौताबाट आउनेमध्ये ३० अर्ब एनजीओ आईएनजीओलाई बाँडिनेछ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौताबाट आउनेमध्ये ३० अर्ब रुपैयाँ एनजीओ र आईएनजीओेलाई वितरण गर्ने उल्लेख रहेको दाबी गरेका छन् ।

कमलादीस्थित प्रज्ञा भवन परिसरमा शुक्रबार आयोजित एमसीसीविरुद्ध खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताबाट करिब ७० अर्ब रुपैयाँ आउने र यसमध्ये ३० अर्ब नेपालमा रहेका गैरसरकारी र अन्तर्राष्ट्रिय सरकारी संस्थालाई बाँड्ने उल्लेख रहेको दाबी गरेका हुन् ।

Advertisement

अमेरिकाको इच्छाअनुसार नेपालमा रहेका एनजीओ र आईएनजीओलाई ३० अर्ब बाँडिने सम्झौतामा उल्लेख रहेको भन्दै उनले भने, ‘सम्झौताबाट करिब ७० अर्ब आउने भनिएको छ । त्यसमध्ये ४० अर्ब ट्रान्समिसन लाइन र सडक निर्माणमा खर्च गरिने र बाँकी ३० अर्ब यहाँका एनजीओ र आईएनजीओलाई दिने भनिएको छ । एमसीसीको इच्छामा दिने भनिएको छ ।’

एमसीसी सम्झौतामा सर्तैसर्त रहेको र यो राष्ट्रहितविपरीत रहेको उनको दाबी छ ।

एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युक्रेनले अहिले भोगेको अवस्था नेपालले पनि भोग्नुपर्ने स्थिति आउन दिन नहुने बताएका छन् । उनले एमसीसी अनुमोदन गर्दा चीनसँगको सम्बन्ध बिग्रिन सक्ने बताए ।

‘अहिले रुस-युक्रेन युद्ध चलिरहेको छ । युक्रेनका कारण आफूमाथि सुरक्षा चुनौती बढेको भन्दै रुसले आक्रमण गर्‍यो । अहिले युद्ध चलिरहेको छ,’ खनालले भने, ‘नेपालले पनि यसबाट सिक्नुपर्छ । टाढाको कुरा सुन्दा छिमेकी देशसँगको सम्बन्ध बिग्रिने अवस्था नआओस् ।’

एमसीसीको प्रक्रिया आफू प्रधानमन्त्री हुँदा सुरुवात नगरेको भन्दै उनले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सुरु भएको बताए । एमसीसी नेपालको हितमा नरहेको भन्दै उनले संसदमा अनुमोदन गर्ने विषयमा पनि आपत्ति जनाए । ‘आलु, टमाटर बेच्दा अनुमोदन गर्न नपर्ने, अनि बिजुली बेच्न चाहिँ अनुमोदन गर्नुपर्ने ?,’ खनालले प्रश्न गरे ।

More News last news
Loading...