धोबिघाटमा स्कुटीलाई ठक्कर दिएर फरार भारतीय कार १० मिनेटमै समातियो

काठमाडौं । प्रहरीले स्कुटीलाई ठक्कर दिएर फरार भारतीय गाडीलाई १० मिनेटमै समातेको छ ।

सोमबार राती १० बजेर ५५ मिनेटमा ललितपुर धोबिघाटस्थित सडक खण्डमा स्कुटीलाई ठक्कर दिएर बीआर ०५ एएन ५९२० नम्बरको भारतीय कार फरार भएको थियो ।

Advertisement

लगत्तै खबर महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुग्यो । रानीपोखरीको कन्ट्रोल रुमले कारको हुलिया महानगरीय प्रहरी परिसर काठमाडौंअन्तर्गतको वृत्त, विभाग र कन्ट्रोल रुम भेइकल्स (सीआरभी) लाई जानकारी गरायो ।

काठमाडौं प्रहरीले ललितपुरबाट भित्रिन सक्ने सम्भावित नाकाहरुमा चेक प्वाइन्ट राखे । ठाउँ ठाउँमा जाँच गर्ने क्रममा कीर्तिपुर वृत्तबाट खटिएको सीआरभी टोलीले ११ बजेर पाँच मिनेट अर्थात फरार भएको १० मिनेटमा नियन्त्रणमा लियो ।

कारलाई भारत बिहारको चम्पारण निवासी २८ वर्षीय जोबैर अहमदले चलाइरहेका थिए । उनलाईसमेत नियन्त्रणमा लिएर ललितपुर परिसरलाई बुझाइएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले बताए ।

भारतीय नागरिक अहमदमाथि पनि ‘हिट एण्ड रन’ केसमा थप अनुसन्धान भइरहेको ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । उनकाअनुसार स्कुटीमा सवार चालकको ललितपुरको स्टार अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ ।

More News last news
Loading...