अवैध रुपमा अमेरिका छिर्न खोज्दा परिवार नै ध्वस्त

काठमाडौं । अवैध रुपमा अमेरिका छिर्न खोज्दा परिवार नै सखाप भएको छ । अमेरिका र क्यानडाको सीमानामा एक भारतीय नागरिकको परिवार नै मृत फेला परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकासँग सीमा जोडिएको क्यानाडाको मनिटोबा सहरमा चिसोका कारण ३९ वर्षीय जगदीश पटेल, ३७ वर्षीया वैशालीबेन पटेल र उनीहरूका छोराछोरी ११ वर्षीया छोरी विहांगी र तीन वर्षीय छोरा धार्मिकको मृत्यु भएको क्यानडाका अधिकारीहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका हुन् ।

Advertisement

क्यानडाका अधिकारीहरूले चार भारतीय परिवारका सदस्यहरूको मृत्यु मानव तस्करीसँग जोडिएको बताएका हुन्।क्यानडाको मनिटोबा नजिकै अत्यधिक चिसोका कारण चारैजनाको मृत्यु भएको हो। परिवार पैदलै अमेरिका जान खोजेको रात माइनस ३५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।

पटेल परिवार पहिलो पटक जनवरी १२ मा क्यानाडाको टोरन्टो शहरमा विमानबाट पुगेको थियो। त्यसपछि उनीहरु पश्चिमी क्यानडाको मनिटोबामा गएका थिए। जनवरी १८ तिर सीमावर्ती शहर इमर्सनमा गएका थिए। उनीहरुको शव भोलिपल्ट राति भेटिएको थियो।

क्यानाडा अमेरिका सीमा नजिक इमर्सनमा कुनै पनि सवारीसाधन नभेटिएपछि उनीहरुलाई कसैले कारमा लगेर त्यहाँ छाडेको जनाइएको छ। त्यसपछि उनीहरु त्यहाँबाट पैदल हिँडेर अमेरिका छिर्न खोज्दा मृत्यु भएको हो।

More News last news
Loading...