भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय, केही तहमा ३ दिन बिदा

काठमाडौँ । सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।

Advertisement

यी स्थानीय तहमा माघ १८, १९ र २० गने सार्बजनिक बिदा

तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा केही स्थानीय तहले तीन दिन सार्बजनिक बिदा दिएका छन् ।

काभ्रेपलाञ्चोकका रोशी र तेमाल गाउँपालिकाले २८५८ औँ सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष) का अवसरमा आगामी माघ १८, १९ र २० गते तीन दिन गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालय, सङ्घसंस्था र बैंक तथा वित्तीय संस्थाहरू तीन दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

तामाङ समुदायको बाहुल्यता रहेको गाउँपालिकाले ल्होछारको दिन १९ गते परेकाले सो दिनको एक दिनअघि र एक दिनपछि गरी तीन दिनसम्म सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए।

‘विगत वर्षझैँ यस वर्ष पनि ल्होछारका अवसरमा तीन दिनसम्म पालिकाअन्तर्गत सबै कार्यालयहरू, सम्पूर्ण शैक्षिक संस्थाहरू, सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थाहरू सो अवधिभर बन्द रहनेछ’, अध्यक्ष लामाले भने, ‘तामाङ समुदायको बाहुल्य रहेको पालिकाभित्र संविधानले दिएको अधिकारको प्रयोग गरी तीन दिनसम्म सार्वजनिक बिदा दिँदै आएका छौं।’

त्यस्तै, तेमाल गाउँपालिकाले पनि ल्होछारका अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष सलाम सिं लामाले बताए। गाउँपालिकाको माघ १३ गतेको निर्णयअनुसार ल्होछारको अवसरमा तीन दिनसम्म पालिकाअन्तर्गतका सबै कार्यालयहरू, सम्पूर्ण शैक्षिक संस्थाहरू, सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थाहरू सो अवधिभर बन्द रहने उनले बताए।

यस वर्षको तामाङ समुदायले मनाउने सांस्कृतिक तथा धार्मिक पर्व २८५८ औँ सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष) आगामी माघ १९ गते परेको छ। तामाङ समुदायले ल्होछारलाई सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा मनाउने गरिन्छ। तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ।

More News last news
Loading...