क-कसलाई लागू हुँदैन जोर-बिजोर प्रणाली ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार रातिबाट सवारी साधनमा जोर बिजोर प्रणालीमा लागू हुने भएको छ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण बढेकाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठक बसेर आदेश जारी भएको हो।

Advertisement

नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीब्र रुपमा बढ्दै गएकाले यसलाई रोकथाम, नियन्त्रणलाई थप प्रभावकारी बनाउन मापदण्ड तोकिएको ललितपुरका साहायक सिडिओ हरिप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रे सहित)उपत्यका भित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्नुपर्नेछ।

अधिकारीका अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्याँस, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), खाद्यान्न, पानी, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र),परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, परिचयपत्रको आधारमा बैँक–बीमा–बित्तीय संस्था–वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, सूचना तथा प्रशारण विभागवाट जारी पत्रकार परिचयपत्र रहेका संचारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन, कुटनैतिक नियोगका सवारी साधनलाई भने जोर बिजोर प्रणाली लागु हुँदैन।

जिल्ला प्रशासन कार्यालयले सवारी सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, सबै यात्रुलाई मास्क अनिबार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्ने, चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनु पर्ने, सवारी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नु पर्ने, सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रुपैया लिई मास्क उपलब्ध गराउनु पर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिन निर्देशन दिएको छ।

यसैगरी लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी शुरु देखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरुको विवरण जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) लाई उपलध गराउने, लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरुलाई सम्भव भएसम्म एन्टिजेन परीक्षणगर्ने व्यवस्था मिलाउने, राष्ट्रिय राजमार्गहरुमा सञ्चालित होटेल तथा रेष्टुरेण्टहरुले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी भिडभाड नहुने व्यवस्था मिलाई आलोपालो गरी सेवा दिने उल्लेख छ।

More News last news
Loading...