काठमाडौँमा आजदेखि स्मार्ट लकडाउनः के-के गर्न पाइन्छ, के-के गर्न पाइँदैन् ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ। मंगलबार बसेको काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित ​कडाइ गर्ने निर्णय गरेको हो।

उपत्यकामा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको छ। स्मार्ट लकडाउनको आदेश मंगलबार मध्यराति १२ बजेदेखि लागू भएको छ।

Advertisement

अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनको आदेश छ।

यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ। सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला पाइने छैन । सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम लागु गरिएको छ। यस्तै माघ १५ सम्म विद्यालय बन्द रहनेछन्।

पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाहरूको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था गरी सञ्चालन गर्न अनुमति दिइएको छ।

जिल्ला प्रशासन, मालपोत, नापी, यातायात व्यवस्था, आन्तरिक राजस्व, बैङ्क तथा वित्तीय संस्था आदिमा भीडभाड नहुने उपयुक्त तरिका अपनाएर सेवा प्रवाह गर्न भनिएको छ।

कोभिड-१९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सुदृढ गरी पुनः सञ्चालनमा ल्याउन र अक्सिजनको आपूर्ति सहज बनाइने भएको छ।

More News last news
Loading...