काठमाडौँ । भुटानलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटमा जित दर्ता गरेको छ। मंगलबार दुबईमा भएको खेलमा भुटानलाई आठ विकेटले हराउँदै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो।
६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले आठ ओभर तीन बलमा दुई विकेट गुमाएर ६४ रन बनायो। नेपालको जितमा इन्दु बर्माले अविजित सर्वाधिक १८ रन बनाइन्। २४ बल सामना गर्दा बर्माले कुनै बाउण्ड्री प्रहार गरिनन्।
सीता राना मगरले १७ रन बनाइन्। सिताले १३ बल खेल्दा दुई चौका प्रहार गरिन्। कप्तान रुबिना क्षेत्रीले १२ बलमा १० रनको योगदान गरिन्।
यसअघि टस जितेर ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६१ रन बनाएको थियो। भुटानका लागि गावाङ चोदेनले सर्वाधिक १३ रन बनाइन्। ३१ बल खेलेकी उनले एक चौका प्रहार गरेकी थिईन्।
यस्तै सोनम पाल्दोमले ११ रनको योगदान दिँदा अन्य खेलाडीले भने दोहोरो अंक बनाउँन सकेनन्।
टस हारेर बलिङ गरेको नेपालको लागि सीता राना मगरले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी सीताले १० रन खर्चिन्। करुना भण्डारीले एक विकेट लिइन्।
यसअघि मंगलबार भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो। ६ टोली सहभागी प्रतियोगिताको विजेता ग्लोबल छनोटमा स्थान बनाउनेछ । ग्लोबल छनोटको दुई टोली विश्वकपमा स्थान बनाउनेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
