वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो, कोभिड घटेसँगै राहदानी बनाउने बढे

बुटवल । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । राहदानी वितरणमा कमी आएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या कमी भएको पाइएको हो ।

विगत दुई आर्थिक वर्षमा रुपन्देहीबाट वैदेशिक रोजगारीमा जानका लागि भन्दै राहदानी बनाउनेको संख्यामा कमी आएको हो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७६/७७ मा राहदानी बनाउने घटेका छन् ।

Advertisement

आर्थिक वर्ष २०७७/७८ मा तीन हजार ६२९ वटा राहदानी वितरण भएका छन् भने ५२६ वटा द्रुत सेवाका राहदानी सिफारिस भएका छन् । यो संख्या आर्थिक वर्ष २०७५/७६ को भन्दा तीन हजार दुईले कमी हो भने आर्थिक वर्ष २०७६/७७ मा भन्दा एक हजार ५४८ ले कमी हो ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को कात्तिक मसान्तसम्म बिगतका दुई आर्थिक वर्षको तुलनामा बढी राहदानी वितरण भएका छन् । ‘कोरोना महामारीका कारण विदेश जानेको संख्या घटेको हो, स्थिति सहज बन्दै गएपछि राहदानी बनाउने फेरि बढ्न थालेका छन्,’ उनले भने ।

आर्थिक वर्ष २०७६/(७७ मा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट पाँच हजार ५७५ वटा राहदानी जारी भएका थिए । जसमा साधारण राहदानी पाँच हजार १८८ वटा, नाबालकका ११५ वटा, हराएका २७५ वटा रहेका छन्।

सोही आर्थिक वर्षमा एक हजार ३०० महिला र चार हजार २६१ पुरुषले राहदानी लिएका छन् । त्यस्तै ८७६ वटा द्रुत सेवाका लागि राहदानी सिफारिश गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष भन्दा उक्त आर्थिक वर्षमा एक हजार ४५४ वटा राहदानी कम वितरण भएका छन्।

कोरोना महामारी सुरु हुनुभन्दा अगाडि अर्थात आर्थिक वर्ष २०७५/७६ मा भने राहदानी बनाउनेको संख्या उल्लेख्य थियो। यो आर्थिक वर्षमा ६ हजार ६२१ साधारण, १२६ वटा नाबालक, २८२ वटा हराएका गरी सातहजार २९ वटा राहदानी जारी भएका छन्। उक्त आर्थिक वर्षमा एक हजार १३३ वटा द्रुत सेवाका राहदानी सिफारिस भएको कार्यालयले जनाएको छ।

More News last news
Loading...