काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार टेस्ट राइड गर्नुभएपछि नेपालमै बनेको विद्युतीय मोटरबाइक यात्रीप्रति धेरैको चासो बढेको छ ।
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र अर्थसचिव मधुकुमार मरासिनीले मंगलवार यात्रीको टेस्ट राइड गर्नुभएको तस्बिर ट्वीटरमा सार्वजनिक गरिएको थियो ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले आफूहरुले टेस्ट राइडमा सहभागिता जनाएको अर्थसचिव मरासिनीले ट्वीटमा उल्लेख गर्नुभएको छ ।
यात्री मोटरसाइकल नामक नेपाली स्टार्टअप कम्पनीले साढे ३ वर्ष लगाएर गत वैशाखमा यो मोटरबाइक सार्वजनिक गरेको थियो ।
यात्री पी जेरो मोडेलको मोटरबाइक एक पटकको चार्जमा २३० किलोमिटर गुड्नसक्ने कम्पनीले जनाएको छ । सुरुवाती २.५ सेकेन्डमै ६० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्ने यो बाइक अधिकतम १४० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने कम्पनीको दाबी छ । यसको तौल १९५ केजी रहेको छ ।
त्यस्तै यात्री पी वान मोटरसाइकल एक पटक चार्ज गर्दा १२० किलोमिटरसम्म गुड्न सक्छ ।
लिथियम आयन ब्याट्री राखिएका यात्रीका मोटरसाइकलमा हाई चार्ज र हाई डिस्चार गर्न सकिने र्यापिड चार्ज प्रविधि प्रयोग गरिएको छ । यसबाट २ घण्टामै मोटरसाइकल फुल चार्ज हुन्छ ।
यसका साथै बाइकमा अनबोर्ड चार्जरको सुविधा समेत रहेको छ । यसले गर्दा छुट्टै चार्जर बोक्नुपर्ने झन्झट हुँदैन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
