अतिविपन्न परिवारलाई १० हजारका दरले नगद, निवेदन दिन मन्त्रालयको आह्वान

काठमाडौँ । सरकारले करिब ५ लाख अति विपन्न घरपरिवारलाई नगद अनुदान वितरण गर्न प्रक्रिया अगाडि बढाएको छ।

हालै मात्र कोभिड(१९ महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८’ जारी गरेको सरकारले स्थानीय तहमार्फत अतिविपन्न परिवारलाई १० हजारका दरले नगद हस्तान्तरणको प्रक्रिया अगाडि बढाएको छ ।

Advertisement

नगदका लागि स्थानीय तहमा निवेदन दिन अर्थ मन्त्रालयले आग्रह गरेको छ । अर्थले बिहीबार जारी गरेको सूचना अनुसार स्थायी बसोबास वा कम्तिमा ६ महिनादेखि अस्थायी बसोबास रहेको स्थानीय तहमा १५ दिनभित्र निवेदन दिनुपर्ने छ ।

कार्यविधिअनुसार कोभिड-१९ का कारणले आम्दानी गुमेको र आवेदन दिँदाको मितिसम्म आयको कुनै पनि स्रोत नपाएका घरपरिवारले मात्र अनुदान पाउनेछन् ।

सरकारले कोभिड-१९ को प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अति विपन्न गरिब ५ लाख परिवारलाई राहतस्वरूप एक पटकका लागि प्रतिपरिवार १० हजार रुपैयाँका दरले निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्न लागेको हो ।

राहत पाउने योग्य घरपरिवारले आफ्नो खाता रहेको वाणिज्य बैंक वा विकास बैंक वा फाइनान्सकम्पनीमार्फत रकम लिन सक्नेछन् ।

कार्यविधिअनुसार विगतमा गर्दै आएको रोजगारी पूर्ण रूपमा गुमाएको र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकी बेरोजगार भएको असंगठित क्षेत्रका मजदुर वा कामदारले उक्त सुविधा पाउनेछन् ।

खुला सडक, फुटपाथ वा चौरमा खर्पन नाङलो, डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्यालादारी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर र पर्यटक मजदुरले पनि नगद अनुदान पाउनेछन् ।

More News last news
Loading...