आज भारत भ्रमणमा जाँदै प्रधानसेनापति शर्मा

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ जाँदै छन्। त्यहाँका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा शर्मा चार दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

प्रधानसेनापति शर्मालाई सेनाको एक टुकडीले भारत भ्रमणका लागि सोमबारै बिदाइ सम्मान गारत प्रदान गरिसकेको छ। भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ।

Advertisement

उनलाई यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। नेपाल र भारतबीच एकअर्काका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ।

नेपालका प्रधानसेनापति सुरेन्द्र बहादुर शाहलाई २०२६ सालमा पहिलोपटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाएको छ।

नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ।

More News last news
Loading...