काठमाडौँ । सरकारले बाढी, पहिरो र डुवानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत प्याकेज घोषणा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हालै तीन दिनको बेमौसमी अविरल वर्षाबाट धानबाली तथा अन्य खाद्यान्न बालीमा भएको क्षतिका लागि कृषकलाई राहत दिने निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए।
उनका अनुसार १० कट्टा वालालाई ३५ प्रतिशत, ३ विघासम्मलाई ३० प्रतिशत र त्यो भन्दा बढीलाई २० प्रतिशत राहतस्वरुप क्षतिपूर्ति दिने निर्णय भएको छ।
कात्तिक १ देखिको वर्षा, बाढी र डुवानका कारण देशका धेरै ठाउँमा पाकेको धानबाली डुवानमा परेको थियो । धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा समिति गठन गरेको थियो।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार धानको न्युनतम समर्थन मूल्य कायम गर्दा निर्धारण भएको उत्पादन लागतका आधारमा किसानले राहत पाउनेछन्।
किसानलाई राहत वितरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाउने र सो कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई पेश गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
