तम्घास । गुल्मीको रेसुंगा नगरपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
दशैं मनाउन बुटवलबाट सदरमुकाम तम्घासतर्फ जाँदै गरेकाहरु दुर्घटनामा पर्दा गुल्मीको मुसिकोट नगरपालिकाका दुई महिला र एक पुरुषको मृत्यु भएको हो।
मृत्यु हुनेमा गुल्मीको मुसिकोट नगरपालिका २ जलजला बस्ने ७० वर्षीय क्षेत्र बहादुर थापा, सोही ठाउँकी ४० वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका ३ नेटाकी १९ वर्षीया संगीता सुनार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उनीहरु तीनै जनाको उपचारको क्रममा मृत्यु भएको हो।
लु १ ज ४४९० नम्बरको जिप गएराति ११ बजेतिर रेसुंगा नगरपालिका– १० छहरा भन्ने स्थानमा सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा जिप चालकसहित ६ जना घाइते भएका छन्।
घाइते हुनेहरुमा जिप चालक मुसिकोट नगरपालिका–२ जलजलाका २६ वर्षीय कमल थापा, सोही ठाउँका ४३ वर्षीया खिमा थापा, ३८ वर्षीया जुना थापा र ३६ वर्षीय राजु थापा छन् ।
यसैगरी मुसिकोट नगरपालिका–३ नेटा बस्ने ४७ वर्षीया सुमित्रा सुनार र चितवनको भरतपुर नगरपालिकाकी ५० वर्षीया राधा केसी पनि दुर्घटनामा घाइते भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
