काठमाडौँ । दशैँ तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले आज देखि नयाँ नोट साट्ने भएको छ। राष्ट्र बैंक नोट विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले राष्ट्र बैंकले असोज ४ गतेदेखि असोज २४ गतेसम्म वितरण गर्ने जानकारी दिएका हुन्।
राष्ट्र बैंकले २ खर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गर्ने जानकारी दिएको हो। उनका अनुसार राष्ट्र बैंकले एक साता अघि देखिनै बैंकहरुलाई नयाँ नोट दिन थालेको हो। सर्वसाधारणलाई भने असोज ४ गतेदेखि वितरण गर्ने उनले बताए।
यस्तै उनले दशैँ–तिहारको बिदा अघि नै सातै प्रदेशका कार्यालयबाट नयाँ नोट वितरण गरिसक्ने बताए।
साना र ठूला दरका नोट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँ वितरण गरिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले २ करोडदेखि ५ करोड रुपैयाँसम्म नयाँ तथा सुकिला नोट संस्थागत प्रयोजनका लागि उपलब्ध गराउने छ।
यस्तै, राष्ट्र बैंकले दशैमा नयाँ नोट सटहीका लागि भनेर २ खर्ब रुपैयाँ बराबरका नयाँ नोट स्टकमा राखेको छ भने त्यसमा सानादरका नयाँ नोट ५० अर्ब रुपैयाँ र ठूला दरका नोट १ खर्ब ५० अर्ब रुपैयाँ स्टकमा राखेको छ।
राष्ट्र बैंकका अनुसार स्टकमा नयाँ नोट रहेकाले नयाँ नोट सटहीमा कुनै समस्या हुनेछैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
