काठमाडौँ । कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ। उनको आइतबार हृदयघातका कारण निधन भएको हो। ‘आइतबार छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै थिए’ कलाकार केसीले भने ‘एक्कासी ढल्न पुगे, तुरुन्तै गंगालाल अस्पतालमा पुर्याइएको थियो। तर बचाउन सकिएन।’
छन्दे स्टुडियो तारकेश्वर नगरपालिका वडा नं ६ महाँकालमा रहेको छ। उनी बिहानै सिरियल ‘हल्के हवल्दार’ टिमको एक म्युजिक भिडियो सुटिङका लागि पुगेका थिए।
लामो समयदेखि उनी मुटु सम्बन्धी समस्याबाट पीडित रहेका थिए। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ। अन्त्येष्टि अगाडि उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमै केही घन्टा राखिने भएको छ।
रंगमञ्चबाट अभिनय थालेका केसीले थुप्रै नाक, सडक नाटक, म्युजिक भिडियो, टेलिसिरियल र फिल्मसमेत अभिनय गरेका छन् । उनी पछिल्लो समय सिरियल ‘एकादेशको चुरिफुरी’ ‘हर्के हवल्दार’ लगायतमा देखिँदै आएका थिए।
अन्तिम संस्कारमा बोर्डका अध्यक्ष दाहालसहितका कलाकारहरु
श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, कलाकार उत्तम केसी, वीरेन्द्र हमाल, प्रभाकर शर्मा, रामशरण कोइराला, राजेश महर्जन, मुकुन्द मैनाली, सिरियल हर्के हवल्दार युनिट, निर्देशक कलाकार जीवन थापा, पनाह अधिकारी लगायत पुगेका छन् ।
चलचित्र कलाकार संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको थियो। इमाडोल ललितपुर घर भएका उनको तारकेश्वर नगरपालिका वडा नं ६ महाँकालमा स्थित छन्दे स्टुडियोमा एक म्युजिक भिडियोमा अभिनय गर्दागर्दै मृत्यु भएका हो।
अभिनय सिलसिलामा निधन भएका उनी दोस्रो कलाकार हुन्। यस अगाडि कलाकार विष्णुभक्त फुयाँलको राष्ट्रिय नाचघरमा एक नाटक अभिनय सिलसिलामा निधन भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
