काठमाडौँ । जिल्ला प्रहरी कार्यालय काभ्रेले फैसला भएको १५ वर्षपछि फरार ठग पक्राउ गरेको छ । जिल्ला अदालत काभ्रेले गुठी ठगी अभियोगमा कैद र जरिवानासहित २०६३ सालमा फैसला गरेकोमा प्रतिवादीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायवउपरिक्षक हरि खतिवडाका अनुसार जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं. ६ का ६८ वर्षीय बिदुरराज गिरीलाई पक्राउ गरेको हो।
उनलाई जिल्ला अदालतले ठगी गरेको फैसला गर्दै ३ वर्ष ४ महिना १२ दिन कैद र ८ लाख ५ हजार जरिवाना तोकेको थियो।
‘फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला अदालत काभ्रेले दिएको लागत अनुसार खोजतलास गर्ने क्रममा फरार प्रतिवादी गिरीलाई पक्राउ गरेका हौँ’ खतिवडाले भने,‘पक्राउपछि हामीले तत्काल जिल्ला अदालत काभ्रेमा पेश गरेका छौँ।’
प्रहरी नायव उपरिक्षक खतिवडाका अनुसार फरार प्रतिवादी गिरीलाई काठमाडौं स्थित बालाजुमा लुकीछिपी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
