९० दिन अन्तरिक्षमा बसेर पृथ्वी फर्किए चीनका तीन अन्तरिक्षयात्री

काठमाडौँ । मानवसहितको अन्तरिक्ष अभियान पूरा गरी चीनका तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् । यसलाई चीनको अहिलेसम्मको सबैभन्दा लामो अन्तरिक्ष अभियान भनिएको छ । उनीहरु ९० दिनसम्म एउटा अन्तरिक्ष केन्द्रमा बसेका थिए ।

टियाहे मोड्यूल नाम दिइएको सो केन्द्र चीन आफैंले बनाएको थियो । अन्तरिक्षयात्रीहरू न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शन्जो–१२ अन्तरिक्षयान चढेर शुक्रवार स्थानीय समयानुसार दिउँसो १ः३५ बजे चीनको भित्री मङ्गोलियाको गोबी मरुभूमिमा अवतरण गरेका थिए।

Advertisement

यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास थप बढेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। सोही मरुभूमिबाट गत जुन १७ मा उनीहरूको अन्तरिक्षयान उडेको थियो। पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि मानव पठाएको यो पहिलो पटक थियो।

अन्तरिक्ष केन्द्रको बसाइका बेला चिनियाँ अन्तरिक्षयात्रीहरूले पृथ्वीमा डेटा पठाउने प्रयोग र घण्टौँसम्म “अन्तरिक्षमा हिँड्ने” काम गरेको चीनबाट प्रकाशित ग्लोबल टाइम्सले जनाएको छ।

उक्त अन्तरिक्ष केन्द्रमा अन्तरिक्षयात्रीहरू बस्ने मुख्य खण्डमा प्रत्येक व्यक्तिका लागि छुट्टै ठाउँ र शारीरिक अभ्यास गर्न विशेष खालको ट्रेडमिल र बाइसाइकलयुक्त व्यायामशाला भएको जानकारी ग्लोबल टाइम्सले दिएको छ। केही वर्षयता चीनले अन्तरिक्ष र खगोलशास्त्रको क्षेत्रमा ठूलो फड्को मारेको छ। न्युज कारखाना/बीबीसी

More News last news
Loading...