काठमाडौं । साढे चार महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुला गरिएको छ । बिहीबार क्षमा पूजा गरेपछि आज बिहान साढे पाँच बजेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको हो।
पशुपतिनाथको मूल मन्दिर नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न बन्द गरिएकोमा माफी माग्दै क्षमा पूजा गरिएको छ।
नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र भएपछि गत वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो।
कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो एक बजेसम्ममात्र खुला गरिने छ। पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ। एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ।
मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ। एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ। विशेष पूजा भने शुक्रबारदेखि खुला नगरिने कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।
शुक्रबार बिहानदेखि मन्दिर खोल्न बुधबार नै सुरक्षा समितिको बैठक बसी तयारी गरिएको थियो। मन्दिरमा भक्तजनलाई सहज तरिकाले दर्शन गराउन आवश्यक सबै तयारी गरिएको कोषले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
