काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट करिब ४ किलो ३५ ग्राम लागूऔषध चरेश सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा म्याग्दी मंगला गाउँपालिका-३ ठेगाना भएका ३६ वर्षीय श्याम प्रसाद रोका र सोही ठाउँ ठेगाना भएका ३५ वर्षीय वीरबहादुर रोका (रोका बन्धु) रहेका छन्।
कतार एअरको उडानद्वारा दोहा कतार जान लागेका उनीहरुलाई बिमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुटकेसभित्र उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
उनीहरु उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ५ सय ८५ नियन्त्रित नाइट्राभेट सहित सप्तरी रुपनी गाउँपालिका–६ बस्ने १९ वर्षीय शुरेश खङ्गलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना।५ ख ५३१५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार शुरेशले झोलाभित्र लुकाई ल्याएको फेला पारी उनलाई पक्राउ गरेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
