नवलपरासीको डाइभर्सन बाढीले बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

नारायणगढ–मुग्लिङ सडकको पहिरो हटाउन सुरु

काठमाडौँ । अविरल वर्षापछि आएको बाढीले नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर–२३ स्मृति नजिक डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन गएराति बाढीले बगाएपछि राजमार्ग पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी मधुसुदन सिंहले जानकारी दिए।

Advertisement

निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्ण रुपमा क्षति पुगेकाले तत्काल मर्मत गरेर सञ्चालन गर्न कठिन रहेको सिंहले बताए।यस्तै गैँडाकोट थुम्सी, भेडाबारी लगायतका ठाउँमा रहेका डाइभर्सनबाट समेत गाडी सञ्चालनमा कठिनाइ भएको छ।

बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभर फ्लो’ भएकाले गाडी आवतजावत बन्द भएको हो।

अविरल वर्षका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न ठाउँ डुबानमा परेका छन् । बाढी, पहिरो र डुबानका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सिंहले जानकारी दिए।

नारायणगढ–मुग्लिङ सडकको पहिरो हटाउन सुरु

यसैगरी, पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडक खण्डको पहिरो हटाउन सुरु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गएराति ८ बजेपछि ठूलो पहिरो खसेर सडक दुइतर्फी अवरुद्ध रहेको छ।

आज विहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको हो। भरतपुर महानगरपालिका २९ सेती दोभान र पाँचकिलोमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको हो।

डोजर र जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम भईरहेको र उक्त सडक प्रयोग गर्ने यात्रु तथा चालकहरुलाई नारायणगढ मुग्लिङ सडक खण्डको जानकारी लिएर मात्र यात्रा सुरु गर्न अनुरोध गरिएको छ।

More News last news
Loading...