काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ, अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को केन्द्रीय अध्यक्षमा कुल आचार्यले उम्मेदवारी दिने भएका छन् ।
बर्तमान सल्लाहकार समेत रहेका बेलायत निवासी आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाएर आफूले सङ्घको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने योजना बनाएको जानकारी दिएका छन् ।
उनले सन् २०२१–२०२३ कार्यकालका लागि निर्वाचित भएमा सबै गैरआवासीय नेपाली अटाउने संस्था बनाउन आफूले काम गर्ने बताए ।
सङ्घको दशौं अधिवेशन आगामी अक्टोबर २३–२५ मा काठमाडौंमा हुँदैछ । यसपटक पहिलोपटक अनलाइन माध्यमबाट निर्वाचन हुने बताइएको छ।
नेपालको संविधान जारी भएको ६ वर्षसम्म पनि संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा नआउँदा लाखौँ प्रवासी नेपाली प्रभावित भएको बताउदै उनले आफूले तीन पुस्ता पछि पनि कायम रहने पासपोर्टसहितको गैरआवासीय नेपाली नागरिकताका लागि लामो समयदेखि आवाज उठाउँदै आएको बताए ।
आफू निर्वाचित भएमा सबै राजनीतिक दल तथा नेपाल सरकारसँग पहल गरेर गैरआवासीय नेपाली नागरिकता लागू गरी छाड्ने आचार्यको प्रतिवद्दता छ।
नेपाल सरकारले मान्यता दिएको एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता छ। अहिले संसारभरि यसका सदस्यको सङ्ख्या १ लाख नाघेको बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
