काठमाडौँ । प्रेस काउन्सिल नेपालले आपसमा मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्ने भएको छ।
काउन्सिलले शुक्रबार सूचना जारी गर्दै दर्ता भइ सञ्चालन भइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडेर डोमेन दर्ता/मिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम (Domain Name) लिएर सूचीकरण हुन आएमा त्यस्ता न्युज पोर्टललाई सूचीकरण नगर्ने जनाएको हो।
हालै बसेको काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकमा यस्तो निर्णय गरेको काउन्सिलले जनाएको छ।
विधिवत् रुपमा पहिले नै सञ्चालित अनलाइन मिडियाबाट यस्ता विषयमा काउन्सिलमा पटकपटक उजुरी/गुनासाहरू आउने गरेको सूचनामा उल्लेख छ। अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका-२०७३ (पहिलो संशोधन, २०७४) मा अनलाइन सञ्चारमाध्यम सूचना तथा प्रसारण विभागमा दर्ता हुने व्यवस्था छ।
पत्रकार आचारसंहिता पालना सम्बन्धमा अनुगमन एवं निरीक्षण र अभिलेखीकरणका लागि प्रेस काउन्सिल नेपालले सूचीकरण गर्दै आएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
