काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा अगावै विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई खोपको माग गरी शिक्षा मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको तर जवाफमा जोखिम कायमै रहेकाले परीक्षाको तालिका पुनर्विचार गर्न भनिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए।
परीक्षाको तालिका पुनर्विचारबारे छलफल गर्न बोर्डले भोलि शनिवार बैठक बोलाएको पनि बोर्डका अध्यक्ष पौडेलले बताए। कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि सुरु गर्ने गरी परीक्षा तालिका सार्वजनिक भएको छ।
यसअघि बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको जनाएको थियो। यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो।
कोरोना सङक्रमण फैलँदै गएकाले कक्षा १२ को सहित नजिक आएका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
