सिन्धुपाल्चोकमा फेरि भीषण बाढी, प्रहरी र रेडियोका घरहरु पनि बगायो

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि भीषण बाढी आएको छ । बाढीले केही घरहरु नै बगाएको छ। त्यहाँ फेरी ठूलो क्षति पुगेको छ । रेडियो मेलम्ची र तालामाराङको प्रहरी चौकी बसेको भवन नै बगाएको छ। चौकी र रेडियो विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताएका छन् । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको जानकारी उनले दिए ।

Advertisement

गएरातिको बाढीले रेडियो मेलम्चीको भवन बगाएको पत्रकार दिनेश थापाले जानकारी दिए । रातो पुलको माथिबाट पानी बगेको उनले बताए । गत असार १ गते आएको बाढी पनि पुल माथिबाट बगेको थिएन।

हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको डिएसपी सापकोटाको भनाई छ। चनौटे बजारको बीच भागबाटै पानी बगेको छ।

यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो। सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन्।

More News last news
Loading...