मंकी बी भाइरसबाट पहिलो पटक डाक्टरको ज्यान गयो, यस्ता छन् यसका लक्षण

काठमाडौँ । चीनको बेइजिङमा मंकी बी भाइरस संक्रमणका कारण एक व्यक्तिको ज्यान गएको खबर छ। ग्लोबल टाइम्सलाई उद्धृत गर्दै बीबीसीले यसबारे जानकारी दिएको हो।

ग्लोबल टाइम्सको खबर अनुसार बेइजिङमा जनावरका एक डाक्टरमा मंकी भाइरसबाट मृत्यु भएको हो । मंकी भाइरसका कारण भएको यो पहिलो निधन हो। खबरमा बताइए अनुसार उनको सम्पर्कमा आएका मानिसहरु अहिले पूर्ण रुपमा सुरक्षित छन्।

Advertisement

५३ वर्षका यी पशु चिकित्सक एक इन्स्टिच्युटमा नन–ह्यूमन प्राइमेट्समाथि अनुसन्धान गरिरहेका थिए। रिपोर्टमा बताइए अनुसार मार्च महिनामा उनले दुई मृत बाँदरमाथि शोध गरेका थिए र त्यसको एक महिनापछि नै उनलाई बान्ता हुन थालेको थियो।

गत शनिबार चाइना सीडीज विकलीले यसबारे जानकारी दिएको हो। पत्रिकाका अनुसार यी पशु चिकित्सकले थुप्रै अस्पतालमा उपचार गराए तर २७ मेमा उनको ज्यान गयो।

पत्रिकाका अनुसार यसअघि यो भाइरससँग सम्बन्धित कुनै पनि घटना सार्वजनिक भएको थिएन। मंकी बी भाइरसले मानव संक्रमण र निधनको यो पहिलो मामिला हो ।

अनुसन्धानकर्ताले अप्रिलमा पशु चिकित्सकको स्याम्पल लिएका थिए र त्यसमा मंकी भाइरस भएको पुष्टि गरिएको थियो । तर राहतको कुरा यो हो कि उनको सम्पर्कमा आएका अर्को व्यक्तिमा अहिलेसम्म यो भाइरसको संक्रमणको लक्षण देखिएको छैन।

यो भाइरसको पहिचान सन् १९३२ मा भएको थियो। यो भाइरस सिधा सम्पर्क र शरीरबाट निस्कने तरल पदार्थको आदान प्रदानबाट फैलन्छ। मंकी बी भाइरसद्वारा संक्रमित बिरामीमा मृत्युदर ७० प्रतिशतदेखि ८० प्रतिशत हो।

पत्रिकाले मंकी बी भाइरसले खतरा पैदा गर्न सक्ने र यसबारे थप अनुसन्धान हुनुपर्ने सुझाव दिएको छ।

के हो मंकी बी भाइरस ?

हर्पीस बी भाइरस वा मंकी भाइरस साधारणतया वयस्क मेकाक बाँदरबाट फैलन्छ। यसबाहेक रिसक मेकाक, सुँगुरको झैं पुच्छर भएका मेकाक र सिनोमोलगस बादर वा लामो पुच्छर भएको मेकाकबाट पनि यो भाइरस फैलन्छ।

यो मानिसमा पाइनु निकै दुर्लभ मानिन्छ तर यदि कोही मानिस यो भाइरसद्वारा संक्रमित हुन्छन् भने उसलाई स्नायू सम्बन्धि रोग वा मस्तिष्क र मेरुदण्ड सुन्निने रोग लाग्न सक्छ।

यो भाइरस कसरी फैलन्छ ?

मानिसमा यो भाइरस साधारणतया मेकाक बाँदरले टोकेपछि वा चिथोरेपछि मात्रै पुग्न सक्छ। भाइरस संक्रमित बाँदरको र्‍याल, मल–मूत्रमार्फत् पनि यो फैलन सक्छ।

यसबाहेक संक्रमित इन्जेक्सन पनि यसको एउटा स्रोत हुनसक्छ। यो भाइरस वस्तुको सतहमा घण्टौंसम्म जीवित हुनसक्छन्।

बोस्टन पब्लिक हेल्थ कमिशनको रिपोर्ट अनुसार प्रयोगशालामा काम गर्ने मानिस सबैभन्दा बढी यो भाइरसद्वारा संक्रमित हुने खतरा हुन्छ । यस्तै, पशु चिकित्सक वा यी बाँदरको निकट बसेर काम गर्नेहरुमा पनि यो भाइरसको संक्रमणको खतरा उच्च रहन्छ।

यी भाइरसको लक्षण के हुन् ?

मानिसमा, भाइरसको सम्पर्कमा आएको १ महिनाभित्र लक्षण देखिन थाल्छ । थुप्रै पटक यो लक्षण ३ देखि ७ दिनभित्र पनि देख्न सकिन्छ । लक्षण कति तीब्र गतिमा बढ्छ, यो संक्रमण कणमा निर्भर हुन्छ ।

यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने सबैमा यो संक्रमणको एउटै लक्षण देखिन्छ भन्ने छैन ।

केही सामान्य लक्षणः

संक्रमण भएको ठाउँमा फोका आउनु

घाउ नजिकै दुख्नु, उक्त स्थान सुन्निनु । चिलाउनु

फ्लू जस्तो पीडा

ज्वरो आउने चिसो लाग्ने

२४ घण्टाभन्दा बढी समयसम्म टाउको दुख्ने

थकान

मांसपेशी दुख्नु

सास फेर्न समस्या

लक्षण सुरु भएको पहिलो दिनदेखि ३ हप्तासम्म सास फेर्न समस्या हुनसक्छ र यदि संक्रमण अत्यधिक बढेको खण्डमा मृत्युसमेत हुनसक्छ।

More News last news
Loading...