पोखरा । १५ वर्षीया आफ्नै छात्रामाथि यौन दुराचार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन्। ओखलेडाँडा भुम्दिकोट मावि पोखरा–२२ का प्रधानाध्यापक विश्वराज बास्तोलालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गर्दै ७ दिनको म्याद थप गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालका अनुसार पीडित छात्राका अभिभावकहरुले उजुरी दिएपछि ३३ वर्षीय प्रधानाध्यापक बास्तोलालाई बाल यौन दुराचारको आरोपमा पक्राउ गरी जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जानकारी दिए।
प्रधानाध्यापक बास्तोलाले विद्यार्थी नभएको मौका पारेर यौन दुर्व्यवहार गर्ने, फेसबुक म्यासेन्जरमा अश्लिल म्यासेजहरु पठाउने र घुम्न जानका लागि दवाव दिँदै आईरहेको ती छात्राले प्रहरीसमक्ष बयान दिएकी छिन्।
प्रधानाध्यापकको यस्तो व्यवहारले मानसिक तनावमा गुज्रिएकी ती छात्रा असामान्य देखिन थालेपछि परिवारले सोधखोज गर्दै चिकित्सकसम्म पुर्याएका थिए। उपचारका क्रममा लैजाँदा कुनै पनि शारीरिक समस्या नभएको र मानसिक तनाव कैं कारण यस्तो भएको भन्ने भएपछि सोधपुछ गर्दा प्रधानाध्यापकको दुव्र्यवहारको रहस्य खुलेको थियो।
आक्रोशित परिवारले गत मंगलबार प्रधानाध्यापक बास्तोलालाई कुटपिट समेत गरेका छन्। घाईते भएका प्रधानाध्यापक बास्तोलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार गराईएको थियो। त्यसपछि प्रहरीले पक्राउ गरी थुनामा राखेर अनुसन्धान शुरु गरिरहेको छ।
केही महिना अघि पोखरा वडा नं १ मा रहेको राष्ट्रिय मावि टुँडिखेलमा एक छात्रालाई परीक्षा दिने भन्दै होटलमा पुर्याएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले प्रधानाध्यापकसहित ३ जना शिक्षकलाई पक्राउ गरेको थियो।
अनुसन्धान पश्चात् शिक्षक शिशिर कुमार वस्ताकोटी कास्की कारगार चलान भएका छन्। सोही घटनामा प्रहरीले प्रधानाध्यापक सुर्य तिवारी र अर्का शिक्षक घनश्याम रेग्मीलाई पक्राउ गरेको थियो। पक्राउ परेका बाँकी दुईजनालाई अदालतले धरौंटीमा छाडेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
