सेप्टिक ट्यांकीको जगमा राखेर माथिबाट ढलान गरिएको अवस्थामा भेटियो शव

काठमाडौँ । महोत्तरीमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ। लोहारपट्टी नगरपालिका वडा नम्बर ७ स्थित भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

जेठ २० गते देखि हराइरहेकी सुजिताको शव आइतबार बिहान करिब १० बजे फेला परेको हो। प्रहरीले मध्यराति ती महिलालाई सो स्थानमा गाडिएको हुनसक्ने भन्ने सूचना पाएको थियो।

Advertisement

हराएको केही दिनसम्म पनि सम्पर्कमा नआएपछि उनका आमा-बुवाले प्रहरीलाई खबर गरेका थिए।सूचनापछि रातिदेखि नै खोजी गरी शव निकालिएको हो।

प्रहरीले हत्या आरोपमा उनका श्रीमान, देवरसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जनाकारी दिए।

उनका अनुसार सुजिताको शव मृतकका ससुराको जग्गामा फेला परेको हो। सुजिता बस्ने घरबाट करिब आधा किलोमिटर टाढा रहेको जग्गामा शव फेला परेको हो। त्यहाँ गाडेर ढलान गरिएको अवस्थामा फेला परेको उनले बताए।

‘यहाँ काठका मुढाहरू गोदाम जसरी राख्ने गरेको रहेछ। जग्गा लामो खालको छ। त्यहाँ करिब नौ फिट गहिरो सेप्टिक ट्याङ्की बनेको छ’, उनले भने, ‘उनीहरूले ट्याङ्कीको भुइँमा थप चार फिट खाल्डो खनेका छन्। शवचाहिँ बोराभित्र राखेर त्यहाँ गाडिएको अवस्थामा फेला परेको हो।’

शव माथिबाट पनि ढलान नै गरेको उनले बताए। चार फिटमुनि शव राखेपछि माथिबाट फेरि ढलान गरिएको छ। ढलानमाथि पनि तीन फिट जति पानी जमेको थियो, उनले भने।

घटनास्थल थप लुकाउन उनीहरूले बाहिरबाट पनि काठका मुढाहरू राखेका थिए। प्रहरीले आइतबार शव निकालेपछि मृतकका आमा-बुवाबाटै सनाखत गराइएको थियो। प्रहरीले शवको पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल जनकपुर पठाउने तयारी गरेको छ।

प्रहरीका अनुसार सुजिताको शव यसअघि पनि अन्यत्रै गाडिएको थियो। तर त्यहाँ फेला पर्ने आशंका पछि आरोपित व्यक्तिहरूले सेफ्टिक ट्याङ्की मुनि गाडेका हुन्।

‘यो त दोस्रो स्थान हो। पहिले यहाँभन्दा एक किलोमिटर टाढा रहेको आफ्नै खेतमा गाडिएको थियो’, प्रहरी नायब उपरीक्षक विष्टले भने, त्यहाँ थाहा पाउँछन् भनेर फेरि उनीहरूले यहाँ ल्याएर गाडेका हुन्। हामीले सूचनाको आधारमा शव भेट्टायौं। त्यसपछि ढलान फोडेर हेर्दा शव भेटियो।

पहिला शव गाडिएको स्थानमा प्रहरीले कपाल, तन्नारपर्दाका केही टुक्रा र नुन फेला पारेको थियो।

सुजिताको हत्या घरायसी विवादकै कारण हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनको कसरी हत्या गरियो भन्ने बारेमा अहिले खुलिनसकेको प्रहरीले बताएको छ। पोष्टमार्टम पछिमात्रै थप कुराहरू खुल्ने प्रहरीले बताएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

More News last news
Loading...