यो वर्षै नखुल्ने भयो मलेसिया रोजगारी, जुलाइभर युएईमा प्रवेश निषेध

काठमाडौँ । हालसम्म श्रम स्वीकृति जारी भएको संख्याको आधारमा सबभन्दा ठूलो गन्तव्य मलेसियामा रोजगारी यो वर्ष सुरु नहुने भएको छ। मलेसियास्थित नेपाली राजदूतावासका अनुसार एकातिर बढ्दो कोरोना महामारी र अर्कोतिर कोरोनाविरुद्ध खोपको जोहो हुन नसक्दा सन् २०२२ पछि मात्र नेपालीहरू रोजगारीका लागि मलेसिया जान पाउने सम्भावना देखिएको छ।

‘आउँदो डिसेम्बरसम्म मलेसियाले नेपालीलगायत विदेशी कामदार नभित्र्याउने लगभग निश्चित जस्तै छ,’ दूतावास स्रोतले भन्यो, ‘सन् २०२२ को सुरुवातदेखि पनि रोजगारी सुचारु होला भन्ने अनुमान मात्र हो।’ अघिल्लो वर्षको मार्चदेखि लकडाउन सुरु गरिए पनि मलेसियामा अझै पनि कोरोनाको प्रकोप कायमै छ।

Advertisement

दूतावासका अनुसार, महामारीका कारण मलेसियाको अवस्था खराब रहेको उल्लेख गर्दै अहिलेसम्म कोरोनाविरुद्ध दुई डोज खोप पाउनेको संख्या न्यून छ । ‘अहिलेसम्म ९३ लाखले पहिलो र २७ लाखले दोस्रो डोजको खोप लगाएका छन्, त्यसैले अहिलेसम्म धेरैको अनुमान डिसेम्बरपछि अवस्थामा केही सुधार हुन्छ कि भन्ने अपेक्षा छ,’ । कोरोना महामारी सुरु भएपछि पहिला नेपालले बन्द गरेको रोजगारी पछिल्लो चरणमा मलेसिया सरकारले बन्द गरेको हो।

मलेसिया रोजगारी बन्द भएको करिब डेढ वर्ष भइसकेको छ। यतिखेर विदेशी कामदार भित्र्याउन मलेसिया सरकारले खासै अग्रसरता लिएको छैन । देशिक रोजगार विभागले मलेसिया लगायत वैदेशिक रोजगारीमा जान चाहनेका लागि केही दिनअघि श्रम स्वीकृति दिन थाले पनि रोजगारदाताले कामदारको माग नगर्दा श्रम स्वीकृति लिनेको संख्या बढ्न सकेको छैन।

विभागका अनुसार हालसम्म सबै गन्तव्य मुलुकका लागि श्रम स्वीकृति लिएका करिब ५५ लाखमध्ये रोजगारीका लागि मलेसिया जान करिब १० लाखले श्रम स्वीकृति लिएका छन्।

यस्तै, धेरै नेपाली श्रमिक रोजगारीका लागि जाने गरेको अर्को मुलुक संयुक्त अरब इमिरेट्स (युएई) ले जुलाईभर नेपाल लगायत विदेशी नागरिकलाई प्रवेश नदिने निर्णय गरेको छ।

युएई सरकारको यस्तो निर्णयले बिदामा घर आएका हजारौँ नेपाली श्रमिकहरु मारमा परेका छन् । कोरोनाविरुद्धको खोप लगाएकालाई भने प्रवेशमा अनुमति दिन नेपाली राजदूतावासलले पहल गरिरहेको दूतावास स्रोतले जनाएको छ।

More News last news
Loading...