जुम्ल्याहा बच्चासहित अलपत्र परेकी नेपाली महिलाको यूएईबाट उद्दार

काठमाडौँ । युएईमा अलपत्र एक महिलालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा उद्दार गरिएको छ। फेब्रुअरी ८, २०२० मा त्रिभुवन विमानस्थल हुँदै उनी यूएई गएकी थिइन्।

सेल्समा काम गर्ने डोल्मा (नाम परिवर्तन) को सबैकुरा सोचे अनुरुप नै थियो। तर अचानक डोल्माको जीवनले फरक मोड लियो। प्रेममा रहेकी उनलाई धोका भयो। एकदिन अचानक काममै भएको बेला डोल्मा बिरामी परिन् उनलाई अस्पताल पुर्याइयो।

Advertisement

उपचारका क्रममा डोल्मा गर्भवती भएको थाहा भयो। डोल्मालाई यतिसम्मको बज्रपातको अन्दाज थिएन। उनले बच्चाको बाबुको खोजी नगरेकी होइनन्। तर उनको खोज असफल रह्यो। अर्कोतर्फ कम्पनीले उनलाई कामबाट पनि निकालिदियो। उनी न त घर फर्कन सक्थिन् न त दुबईमा बस्ने आधार थियो।

अगस्त २०२० मा दुवई अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिइन्। सुत्केरी हुँदा अस्पतालमा लागेको खर्च तिर्ने अवस्था थिएन डोल्माको। सोही क्रममा डोल्मा गैरआवासीय नेपाली संघको यूएईको सम्पर्कमा आइन्।

उनको उद्धारका लागि पहल सुरु गरिए। गैरआवासीय नेपाली संघ यूएईमार्फत गैर आवासीय नेपाली संघको राहत तथा उद्दार कार्यक्रमको टिमले पहलकदमी लियो। त्यहाँको सरकार र स्वास्थ्य निकायको सहयोगमा उनी सुत्केरी हुँदा अस्पतालमा लागेको ५० हजार दिराम समेत मिनाहा भयो।

डोल्मा भन्छिन्, ‘त्यतिबेला निकै कठिन थियो । अस्पतालले आवश्यक कागजपत्र नभएको भन्दै बच्चालाई तीन महिनासम्म अस्पतालमै राखेको थियो, म भने डेरामा बस्नु परेको थियो, सरहरुले ठूलो सहायता गर्नुभयो, नत्र त के पो गर्न सक्थे र म।’

डोल्माको भिसा सकिसकेको थियो, त्यसैले पनि गैरकानूनी रुपमा बस्न गाह्रो थियो। त्यसैले उनलाई गैर आवासीय नेपाली संघको राहत तथा उद्दार कार्यक्रम अन्तर्गत दुबईको सेल्टरमा राखिएको थियो। त्यसपछि उनलाई नेपाल ल्याउने पहल सुरु गरिएको थियो।

नेपालबाट आवश्यक कागजात झिकाई नेपाली दुतावाससँगको समन्वयमा आमा तथा बच्चाहरुको ट्राभल डकुमेन्ट तथा अन्य प्रक्रियाहरु पुरा गरेर २८ जुन २०२१ का दिन सकुशल स्वदेश फर्काई परिवारका सदस्यको जिम्मा लगाइएको छ।

More News last news
Loading...