काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिषरबाट घाट हटाउन पहल शुरु गरेको छ। कोषले मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक घाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्ताव गर्ने तयारी गरेको हो।
यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्राडा चन्द्रमणि अधिकारीको संयोजकत्वमा समिति गठन गरी पुनरावलोकनका लागि पठाएको छ ।
पुनरावलोकन समितिमा मन्दिर नजिक घाट राख्दा मसानघाटको जस्तो वातावरण बनी धार्मिक स्थलजस्तो हुन नसकेकाले यस्तो प्रस्ताव गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।

‘विश्वभरका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका बेला दैनिक कम्तीमा १०० वटा शव आउन थालेकाले पशुपतिनाथ मन्दिरबाट घाट अन्यत्रै वाग्मती किनारमा सार्ने गरी प्रस्ताव गर्न लागिएको उनले बताए।
मन्दिर परिषरबाट आर्यघाट पूर्णरुपमा बन्द गर्ने गुरुयोजना कोषले तयार पार्न लागेको उनले जानकारी दिए। विद्युतीय शवदाह गृहलाई पनि अन्यत्र उपयुक्त स्थानमा सार्न प्रस्ताव गर्ने जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
