काठमाडौँ । पैसाले कैयौँ मानिसहरुको नियत बदलिन्छ। तर, एक महिलालाई पैसाले यो हदसम्म अन्धो बनायो कि उनले त्यो पैसा हात पार्नको लागि आफ्ना श्रीमानलाई जिउँदै आगो लगाएर मारिन्।
महिलाले श्रीमानको बिमाको रकम हात पार्नको लागि श्रीमानलाई जिउँदै जलाएर मारेपछि दुर्घटनामा उनको मृत्यु भएको झुटो दावी गरेकी थिइन्।
भारतको तमिलनाडुको इरोड जिल्लाको पेरुन्दुरइमा बस्ने ६२ वर्षका रंगराजनलाई उनकी श्रीमतीले पैसाको लागि जिउँदै जलाएर मारेको खुलासा भएको टाइम्स अफ इण्डियाले जनाएको छ।
यो अपराधको लागि ती महिलाले एक जना आफन्तलाई पनि साथमा मिलाएकी थिइन्। ५७ वर्षकी महिला ज्योति मणि र उनलाई साथ दिने ४१ वर्षका राजालाई पुलिसले पक्राउ गरेको छ।
रंगराजनले पावर लुम र रियलस्टेटको कारोबार गर्थे । केही समयअघि मात्रै उनी दुर्घटनामा परेका थिए र अस्पतालमा उनको उपचार भइरहेको थियो।
यही बीचमा उनकी पत्नी ज्योति मणि र आफन्त राजा अस्पताल गएर उनलाई डिस्चार्ज गराए। त्यसपछि उनीहरुले रंगराजनलाई ओमनी भ्यानमा राखेर लिएर हिँडे।
उनीहरुले पहिले नै रंगराजनको हत्याको योजना बनाइसकेका थिए। बाटोमा उनीहरुले गाडीमा आगो लगाएर रंगराजनलाई जिउँदै जलाएर मारे।
उनीहरु आफैंले पुलिसलाई खबर गरे र दुर्घटना भएको जानकारी दिए। उनीहरुले रंगराजनलाई लिएर घर जाँदै गर्दा पेरुमानल्लुरनजिकै पुग्दा गाडीमा अचानक आगो लागेको त्यसपछि आफूहरु भागेर ज्यान बचाएको तर रंगराजनलाई निकाल्न नसकेको बयान दिएका थिए।
तर, उनीहरु दुई जनाको बयानमा केही फरक पाइएपछि पुलिसले उनीहरुमाथि शंका गरेको थियो। जाँचमा एक पेट्रोल पम्पबाट राजाले पेट्रोल किनेको पाइएपछि पुलिसको शंका बढेको थियो।
पुलिसले कडाइका साथ सोधपुछ गर्दा उनीहरुले वास्तविकता स्वीकार गरे। महिलाका अनुसार रंगराजनका तीन बिमा थिए जसवापत उनले साढे ३ करोड रुपैयाँ पाउँथे।
रंगराजनको यो बिमाको लाभग्राही स्वयं ज्योति मणि थिइन्। रंगराजनले विभिन्न मानिसहरुलाई डेढ करोड रुपैयाँ तिर्नुपर्ने ऋण पनि थियो र ती व्यक्तिहरुले पैसा दिनको लागि दबाब दिइरहेका थिए। यही पैसा पाउनको लागि उनीहरुले यस्तो योजना बनाएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
