काठमाडौँ । एक महिना अगाडि सुतेको खाटसहित बेपत्ता भएका झा दम्पतीको शव गाडिएको अवस्थामा भेटिएको छ।
पिपरा गाउँपालिका ५ का मुसाफिर झा र उनकी पत्नी गीतादेवीको महोत्तरीको पिपरा गाउँपालिका २ मा गाडिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
फेला परेको शव हराइरहेका झा दम्पतीकै भएको प्रहरीले पुष्टि गरेको छ। शव पाँच फिट तल गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। झा दम्पतीको हत्या वा अपहरण भएकोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले भन्नुभयो, ‘झाले लगाउने कपडा जुन थियो, उनले लगाउने टिसर्ट त्यही नै हो। बाँकी चिज फरेन्सिक रिपोर्टले हामीलाई डिटेलमा आउँछ होला। सडिगलिसकेको अवस्थामा शव देखिएको छ।’
यसअघि दम्पतीको अपहरण गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको थियो। पिपरा गाउँपालिका–५ सहोडवा बस्ने ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरू २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुर पक्राउ परेका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
