जापानमा गयो शक्तिशाली भूकम्प !

काठमाडौँ । जापानको मौसम विज्ञान निकायले शनिवार ६.९ रेक्टर स्केलको भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिँदै उत्तरपूर्वी सामुद्रिक तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।

सुरूमा ७.२ रेक्टर स्केल कम्पनको अनुमान गरिएको भए पनि जापानी अधिकारीले भूकम्पको धक्का ६.९ रेक्टर स्केलको पुष्टि भएको बताएका छन्।

Advertisement

अमेरिकी भूगर्व विभागले जापानमा शनिबार गएको भूकम्पको धक्का ७.० रेक्टर स्केलको रहेको बताएको छ । भूकम्पका कारण तत्काल मानवीय क्षति नभएको तर सुनामी आउनसक्ने अवस्थालाई ध्यानमा राख्न जापानी अधिकारीले नागरिकलाई आग्रह गरेका छन् ।

स्थानीय समयअनुसार शनिवार साँझ ६ बजेर ९ मिनेट जाँदा महशुस गरिएको भूकम्पको केन्द्रबिन्दु मियागी क्षेत्रको प्रशान्त महासागरीय क्षेत्रमा जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको जापानी मौसम विज्ञान निकायले बताएको छ ।

भूकम्पपछि समुद्रमा करिब एक मिटरसम्मको पानीको तरङ्ग निस्किनसक्ने भन्दै तटीय क्षेत्रमा रहेका हजारौँ नागरिकलाई सुरक्षित स्थलतर्फ जान निर्देशन दिइएको छ ।

जापानी आणविक अधिकारीहरूले भूकम्पको धक्काका कारण आणविक प्लान्टमा कुनै प्रकारको असामान्य सङ्केतको महशुस नगरिएको बताइएको छ । जापानमा यस पहिले सन् २०११ को मार्च ११ मा गएको भूकम्पका कारण १५ हजारभन्दा बढी नागरिकको मृत्यु भएको वा बेपत्ता भएका थिए।

दश वर्ष पहिले जापानमा आएको सुनामीका कारण निम्तिएको विनाशलाई सम्झँदै भूकम्पपछि हजारौँ जापानी नागरिक सुरक्षितस्थलतर्फ हतारहतार भागेको जापानी राष्ट्रिय टेलिभिजन एनएचकेद्वारा भिडियोमा देखाइएको छ । सरकारले उच्च सतर्कता अपनाउन भनेपछि आफूहरू पहाडी क्षेत्रमा भागेको इसिनोमाकी सहरका एक स्थानीय ताकासी योकोताले एएफपीलाई बताए।

जापानी अधिकारीले सुनामीको सम्भावना क्रमशः कम हुँदै गएको तर सावधानीका लागि अझै केही समय सुरक्षितस्थलमा रहन भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई निर्देशन दिएका छन्। रासस

More News last news
Loading...