काठमाडौँ । टेस्ला कम्पनीका सीईओ एलन मस्कले विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको सूचीमा पुनः पहिलो स्थान कब्जा गरेका छन्।
अमेजन सीईओ जेफ बेजोसलाई पछि पार्दै मस्कले पहिलो स्थानमा पुनरागमन गरेका हुन्। ब्लुम्बर्ग बिलेनियर इन्डेक्सका अनुसार मस्कको सम्पत्ति हाल बढेर १ खर्ब ९९ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ।
मस्कको रकेट कम्पनीमा पछिल्लोपटक थपिएको लगानीसँगै उनको सम्पत्तिमा बढोत्तरी भएको हो। मस्कको स्पेस एक्स कम्पनीले हालै सेक्वइया क्यापिटल कम्पनीलगायतका लगानीकर्ताबाट ८५ करोड डलर लगानी भित्राउन सफल भएको थियो।
यो सँगै स्पेस एक्सको हालको बजार मूल्य ७४ अर्ब डलर पुगेको छ जुन गत अगष्ट महिनाको भन्दा ६० प्रतिशतले बढी हो।टेस्ला सीईओ मस्कले सन् २०२१ मा दोश्रोपटक अर्बपतिको सूचीमा पहिलो स्थान कब्जा गरेका हुन्।
अघिल्लो हप्तामात्रै अमेजन सीईओ जेफ बेजोसले १ खर्ब ९४ अर्ब २० करोड डलर सम्पत्ति सहित मस्कलाई उछिनेर नम्बर वान धनाढ्य बनेका थिए। तर मस्कले एक हप्तामै बेजोसलाई पछि पारे।
अघिल्लो हप्ता टेस्लाले बिटक्वाइन क्रिप्टोकरेन्सीमा डेढ अर्ब डलर लगानी गरेको घोषणा गरेको थियो। टेस्लाको लगानीसँगै बिटक्वाइनको मूल्य बढेर ५० हजार डलरसम्म पुगेको थियो।
टेस्लाले आगामी दिनमा बिटक्वाइनलाई भुक्तानी मुद्राको रुपमा स्विकार गर्ने पनि बताइसकेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
