विराटनगर । पाहुना आएका ज्वाईले धारिलो हतियार प्रहार गर्दा मोरङको जहदा गाउँपालिका–१ कि ५५ वर्षीया जोखनीदेवी सरबरियाको मृत्यु भएको छ।
हत्यामा संलग्नताको आरोपमा प्रहरीले २७ वर्षीय प्रेमलाल सरबरियालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार बुधबार बिहान घरायसी विवादमा पाहुना आएका सरबरियाले सासूको टाउकोमा दाउ प्रहार गरेका थिए।
गम्भीर घाइते उनलाई उपचारका लागि कोसी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो। अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो करिब ३ बजे मृत्यु भएको हो।
झापाको गौरीगञ्ज गाउँपालिका १ घर भएका प्रेमलाल ११ दिनअघि ससुराली आएका थिए। बुधबार बिहान उनको श्रीमती र सासूसँग विवाद भएको थियो।
‘हत्याको कारण घरायसी विवाद हो’ डीएसपी राईले भने ‘प्रेमलाललाई पक्राउ गरी अनुसन्धान सुरु गरेका छौं।’ प्रेमलाललाई प्रहरीले बुधबार ससुराली घरबाट नै पक्राउ गरेको थियो। उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
