काठमाडौँ । बलिउड अभिनेता सुशान्त सिंहका आफन्तमाथि गोली प्रहार भएको छ। भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा शनिबार मोटरसाइकलमा सवार हतियारधारीको गोली प्रहारबाट यामहा शोरुमका मालिक राजकुमार सिंह तथा उनका सहयोगी घाइते भएका हुन्।
घाइते राजकुमार स्वर्गीय अभिनेता सुशान्त सिंहका आफन्त हुन्। घटनामा राजकुमारका सहयोगी आमिर हसन पनि घाइते भएका छन्। आमिरको अवस्था गम्भीर छ।
घटनालगत्तै परिवारले राजकुमार सिंह र उनका सहयोगीलाई उपचारका लागि गंगजला चोकस्थित निजी क्लिनिकमा भर्ती गरेको छ। राजकुमारको खुट्टामा गोली लागेको छ, अर्का घाइते बैजनाथपुर निवासी आमिर हसनको कम्मरमा गोली लागेको छ र अवस्था गम्भीर छ।
राजकुमार सिंहले सहरसा र मधेपुरामा यामहाको शोरुम सञ्चालन गर्छन्। शनिबार बिहान झन्डै १० बजे उनी आफ्ना सहकर्मी आमिरसँग मधेपुरास्थित बाइक शोरुम खोल्नका लागि घरबाट हिँडेका थिए।
सोही क्रममा बैजनाथपुरदेखि केही किलोमिटर अगाडि पुग्नासाथ उनलाई बाइकमा सवार तीनजनाले ओभरटेक गरे। त्यसपछि उनीहरुले कयौं राउन्ड गोली हाने। जसमध्ये एउटा गोली राजकुमार र अर्को आमिरलाई लाग्यो।
सुरुमा त पुलिसलाई सहरसा जिल्ला र मधेपुरा जिल्लामध्ये कहाँ गोली चल्यो भनेर निश्चय गर्नमै समस्या भयो। त्यसपछि बैजनाथपुर पुलिस शिविर प्रभारी सञ्जिव कुमार घटनास्थलमा पुगे र छानविन सुरु भयो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
