वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएको अमेरिकी कंग्रेसले पुष्टि गरेको छ।
स्थानीय समयअनुसार बिहीबार बिहान सकिएको इलेक्टोरल कलेजको मतगणनामा अमेरिकी राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको पुष्टि भएको हो।
बाइडेनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल भोट प्राप्त गरेको अमेरिकी कंग्रेसमा उपराष्ट्रपति माइक पेन्सले घोषणा गरेका थिए।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट आवश्यक पर्छ। सिनेटमा जर्जिया र पेन्सिलभेनियामा बाइडेनको जितलाई लिएर केही रिपब्लिक सांसदका अवरोधलाई भने सिनेटले खारेज गरिदिएको छ।
केही रिपब्लिकन सांसदले एरिजोना, नेभादा, र मिचिगनको नतिजा प्रमाणित गर्ने बेलामा पनि अवरोधको प्रयास गरेका थिए।
बुधबार बिहान ट्रम्प समर्थकहरुद्वारा वासिङ्टनमा हिंसा मच्चाएपछि बाइडेन र ह्यारिस विजयी भएको प्रमाणित गरिएको हो। राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित उम्मेदवारलाई अमेरिकी संसद्को संयुक्त सदनले औपचारिक रुपमा प्रमाणित गर्नुपर्नेछ।
बुधबार त्यही प्रक्रिया सुरु गर्न लाग्दा ट्रम्प समर्थक हतियारसहित क्यापिटल हिल्स भवनमा प्रवेश गरेपछि केहीबेर सदनको सत्र रोकिएको थियो। अब बाइडेन र ह्यारिसले जनवरी २० अमेरिकाको राष्ट्रपति र उपराष्ट्रपतिमा रुपमा शपथ लिनेछन्।
बुधबारदेखि सुरु भएको हिंसात्मक प्रदर्शनमा अहिलेसम्म ४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले जनाएका छन्। हिंसात्मक प्रदर्शन जारी रहेकाले वासिङ्टनमा कर्फ्यु लगाइनुका साथै आगामी १५ दिनसम्म संकटकाल घोषणा गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
