काठमाडौँ । साउदी अरबले एउटा ठूलो कदम उठाउँदै कतारका लागि आफ्नो भूमि तथा समुद्री सीमा खोल्ने निर्णय गरेको कुवेतले घोषणा गरेको छ।
खाडी देशका लागि यो निकै ठूलो घटना मानिएको छ किनभने कतारको थुप्रै छिमेकी देशसँग विवाद रहँदै आएको छ।
यो निर्णय साउदी अरबमा मंगलबार गल्फ को–अपरेशन काउन्सिल (जीसीसी) को सम्मेलनमा लिइनेछ। एक वरिष्ठ अमेरिकी अधिकारीले विवाद समाप्त गर्नका लागि एक सम्झौतामा हस्ताक्षर हुने जानकारी दिएका छन्।
कतारका छिमेकीले यो देशमाथि आतंकवादलाई बढावा दिएको आरोप लगाएपछि तीन वर्षअघि विभिन्न प्रकारको प्रतिबन्ध लगाइदिएका थिए।
यी व्यापारिक, कूटनीतिक र यात्रा प्रतिबन्धमा साउदी अरबसँगै यूएई, बहराइन र इजिप्टको पनि सहभागिता थियो र एक तरिकाले कतारलाई ‘घेराबन्दी’ गरिदिएका थिए।
कतार एउटा निकै सानो र धनी खाडी मुलुक हो जसले जिहादी चरमपन्थलाई प्रश्रय दिएको आरोप सधैं अस्विकार गर्ने गर्छ।
यो निर्णयको अर्थ के हो ?
बीबीसीका रक्षा संवाददाता फ्रेन्क गार्डनरका अनुसार कतारमाथिको यो प्रतिबन्ध महिनौंको संयम र लामो कूटनीति पछि हटाइएको हो र यसमा कुवेतको ठूलो भूमिका रहेको छ।
तर यसमा ह्वाइट हाउसको पनि निकै रुची रहेको छ किनभने राष्ट्रपति ट्रम्पको कार्यकाल समाप्त हुँदैछ।
उनी भन्छन्, ‘साढे तीन वर्षको ‘घेराबन्दी’ कतारको अर्थव्यवस्था र खाडी एकताको धारणा दुबैका लागि निकै महँगो साबित भएको छ। खाडीका अरब छिमेकीले आफ्नो पिठ्यूँमा कसरी छुरा रोपेका थिए भन्ने कुरा यहाँका जनताले यति छिट्टै भुल्ने पनि छैनन् र माफी पनि दिने छैनन्।’
‘तर कूटनीतिक कदम इतर यूएइलाई कतारले आफ्नो बाटो परिवर्तन गर्ने हो कि भनेर गहिरो शंका छ। यद्यपि, कतारले आफूले आतंकवादलाई प्रश्रय दिइरहेको र गजा, लिबिया र अन्य स्थानमा राजनीतिक इस्लामी आन्दोलनको समर्थन गरिरहेको छ भन्ने आरोप अस्विकार गरिसकेको छ। तीमध्ये पनि विशेषगरी मुस्लिम ब्रदरहुड जसलाई यूएई राजशाहीका लागि एक सम्भावित खतरा मानिन्छ।’
गार्डनरका अनुसार यो घेराबन्दीले यदि केही गरेको छ भने कतारलाई साउदी अरबका वैचारिक दुश्मन टर्की र इरान नजिक पुर्याइदिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
